रौतहट : ओम प्रकाश यादव / राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको रौतहट आगमन सुनिश्चित भएको छ।
राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानका रौतहट जिल्ला कमिटीले शनिबार एन प्लाजा होटल गरुडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रसाइको आगमन निश्चित रहेको जनाएको हो।
यही कार्तिक २५ गते आइतबार रौतहटको मध्यभाग गरुडा स्थित रहेको श्रीराम सुगर चीनी मिल परिसरमा आयोजना हुने विशाल आम सभालाई सम्वोधन गर्न दुर्गा प्रसाई रौतहट आउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
दुर्गा प्रसाईको आईतबार पहिलो पटक रौतहटमा आगमन हुने छ। बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर समस्यामा परेका नागरिक र मीटर व्याज पीडितहरु सहभागी हुने सभालाई सम्वोधन गर्न प्रसाई पहिलो पटक रौतहट आउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रसाई आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक जिल्ला कार्य समिति रौतहटका अध्यक्ष तेजनारायण यादवले जानकारी दिएका हुन्।
जिल्लाको विभिन्न ठाउँबाट लघुवित्त र साहु महाजनबाट पीडित नागरिकहरु ठूलो संख्यामा गरुडा चीनी मिल्समा आयोजना हुने विशाल आम सभामा सहभागी हुने अध्यक्ष यादवले दावी गरे।
प्रसाई नेतृत्वको महाअभियानले पछिलो समय बैंक तथा वित्तीय संस्थाबाट लिईएका २० लाख मुनिका ऋण मिनाहा गराइदिने र मीटर व्याजबाट पीडितहरुलाई न्याय दिलाउने भनी देश व्यापी रूपमा सभा,गोष्ठी,भेला,बन्द हडताल सहित आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ।
प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा र साहु महाजनबाट मुक्ति पाउन आफ्नो नेतृत्वमा रहेको महाअभियानलाई साथ दिन सम्पूर्ण शोषित र उत्पीडित जनतालाई आग्रह गर्दै आएका छन्।
पत्रकार सम्मेलनमा प्रसाईका प्रमुख स्वकीय सचिव तथा अभियानका संस्कृति विभाग प्रमुख माधव कल्पिकको विशेष उपस्थिति रहेको हो। कल्पिकले राज्यले नागरिक प्रति उत्तरदायी नभएको र चोर,दलाल,तस्कर,भ्रष्टहरुलाई कार्यवाही गर्नुको सट्टा उनीहरुलाई उल्टै संरक्षण गर्ने काम गरेको आरोप लगाए।
उनले शोषित,पीडित आम नागरिकको रक्षाका लागि प्रसाईंले देशैभर नागरिक बचाउ महाअभियानको सुरुवात गरेको बताएका छन्।
बैंक लघुवित्त सहकारी बीमा कम्पनीहरुलाई तुरुन्तै राष्ट्रियकरण गर्न उनले माग गरेका हुन्। निक्षेपकर्ताको निक्षेपलाई ध्यानमा राख्दै निक्षेपकर्ताको व्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्द मुनिको ऋण मिनाह गर्न उनले भनेका हुन्।
विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्याइएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनु पर्ने माग महाअभियानको रहेको छ।
२० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत हुनु पर्ने माग उनको रहेको छ। उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकर रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको ग्यारेन्टी गर्नु पर्ने माग उनले गरे।
बैंकले धितोमा लिलाम गरी सुकुम्बासी बनाएकाहरुको धितो फिर्ता गरी उक्त ऋण पुनर्संरचना गरी १५ वर्षमा तिर्ने गरी किस्तामा बैंकको ऋणतिर्ने वातावरण बनाउनु पर्ने तथा त्यसको जिम्मा सरकारले लिनु पर्ने उनले बताए। सम्पूर्ण सरकारकारका मातहत रहेका संघ संस्थाको रकम बैंकमा राख्दा सून्य प्रतिशत व्याजदरमा राखिनु पर्ने उनले जनाए ।
सरकारले एफडी खाता खोल्न नपाउने निजामति कर्मचारीको तलब तल्लो तहका कर सुरक्षाकर्मीको तलब सुविधा कम्तिमा एक लाख ५० हजार हुने ग्यारेन्टी गर्नु पर्ने माग महाअभियानको रहेको छ।
नेपालको अर्थतन्त्रमा राम्रो सहयोग गर्ने तथा विभिन्न रोगमा औषधीको रुपमा प्रयोग गर्न सकिने हुँदा गाजा खेतिलाई बैधानिकता दिनु पर्ने माग समेत महाअभियानले अघि सारेको छ।
राजाका पालामा स्थापना भएका र प्रजातन्त्र स्थापना पछि बेचिएका सम्पूर्ण उद्योग धन्दा कल कारखाना फिर्ता गरी पुन सञ्चालनमा ल्याउनु पर्ने माग समेत महाअभियानको रहेको छ।
वेरोजगार युवाहरुलाई विनाधितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नु पर्ने लगाएतका माग राख्दै प्रसाई नेतृत्वको नागरिक बचाउ महा अभियानले संघर्ष गर्दै आएको छ।









