कलैयामा म्याद गुज्रिएका खाद्यवस्तु भेटिए, दुई पसललाई १५ हजार जरिवाना

गढिमाइ खबर
127 पाठक संख्या

श्यामबाबु यादव/
बारा । चाडपर्वको समयमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्ने उद्देश्यले बाराको कलैया बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा दुई पसललाई कुल १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनमा विकास जेनरल स्टोर्सलाई ५ हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद समाप्त भएका पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेका थिए। टोलीले ती खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ।

त्यस्तै, माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ र केवरा वाटर म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो। पसलमा गुलाबजलसमेत फेला परेको थियो। म्याद गुज्रिएका केवरा वाटर र गुलाबजललाई अनुगमन टोलीले पानीमा नष्ट गरेको जनाएको छ।

उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) बमोजिम दुवै पसललाई जरिवाना गरिएको कार्यालय प्रमुख चौरसियाले जानकारी दिए। उनका अनुसार माँ अन्नपूर्ण स्वीट्सलाई यसअघि पनि बजार अनुगमनका क्रममा ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

यसैगरी, जय महारानी किराना भण्डारमा १०० ग्रामको एउटा प्याकेट म्याद गुज्रिएको मसला फेला परेको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र मा तारा स्वीट्सलगायत १० वटा पसलको निरीक्षण गरिएको थियो।

अनुगमन टोलीमा वाणिज्य कार्यालयका आशुतोष कुशवाहा र मधुरेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका खाद्य निरीक्षक सुरेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा अरुण साह, अस्थायी प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिमलेश यादव तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक उमाशंकर राम सहभागी थिए।

टोलीले व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री खरिदबिक्री नगर्न, त्यस्ता वस्तुलाई बिक्रीयोग्य सामग्रीबाट अलग राख्न, सामान खरिद गर्दा लेबल तथा म्याद अनिवार्य जाँच गर्न र पसलमा सरसफाइ कायम राख्न निर्देशन दिएको छ।

चाडपर्वका बेला उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने कार्यालय प्रमुख चौरसियाले बताएका छन्।

साझा गर्नुहोस्