बारा। सूर्यदेव र छठी माताको श्रद्धापूर्वक पूजा आराधना गर्दै हिन्दु धर्मावलम्बीहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्वको मुख्य सन्ध्याकालीन विधि सम्पन्न गरेका छन्।
बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरीलगायत मधेश प्रदेशका जिल्लासहित काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटमा भक्तजनको उल्लेख्य भीड लागेको थियो। घाटहरूलाई सरसफाइ तथा आकर्षक सजावट गरी भक्तिमय बनाइएको थियो।
व्रतालुहरूले दिनभर निर्जल उपवास बसेर साँझ बाँसका सुप, नाङ्लो र डालामा ठेकुवा, भुसुवा, नरिवल, उखु तथा विभिन्न फलफूल राखी सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। छठ गीत, भजनकीर्तन र दीप प्रज्वलनले घाटहरूमा धार्मिक रौनक छाएको थियो।
चार दिनसम्म मनाइने छठ पर्व सूर्यदेव र छठी माताप्रतिको आस्था तथा प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छ। सूर्यलाई जीवन, ऊर्जा र प्रकाशको स्रोत मान्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरिन्छ।
छठले स्वच्छता, आत्मअनुशासन, समानता, सामाजिक सद्भाव र सामूहिक एकताको सन्देशसमेत दिन्छ। यस पर्वमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबैले मिलेर पूजा गर्ने परम्परा छ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी यस वर्षको चारदिने छठ पर्व विधिवत् सम्पन्न गर्नेछन्।




