बारा । बारामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिएपछि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार भएका छन् ।
बाराको सुवर्ण गाउँपालिका–३ स्थित सन्तगन्ज पुलनजिकै शनिबार साँझ सडकको छेउबाट पैदल हिँडिरहेका युवकलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत वडा नम्बर-६ मा बस्ने चन्द्रिका ठाकुरका अन्दाजी २५ वर्षीय छोरा विक्रम शर्मा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शर्माको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनका बुवा चन्द्रिका ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि हाल नारायणी अस्पतालमा राखिएको छ ।
ठाकुरका अनुसार सन्तगन्ज नाका र गाउँ नजिकै भएकाले उनी पैदल घुम्न निस्किएका बेला दुर्घटनामा परेका थिए । प्रहरी ड्युटी रहेको स्थानबाट करिब १० मिटरको दूरीमा दुर्घटना भएको दाबी गर्दै उनले मोटरसाइकल र चालकलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ । उक्त मोटरसाइकलको हालसम्म पहिचान हुन नसकेको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलको खोजी कार्यसमेत भइरहेको छ ।




