७१औँ प्रहरी दिवसमा साझेदारी दैनिकका सम्पादक यादवसहित दुई सञ्चारकर्मी सम्मानित

गढिमाइ खबर
54 पाठक संख्या

बारा, ३० असोज । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बाराका दुई जना सञ्चारकर्मी सम्मानित भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराले साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक श्यामबाबु प्रसाद यादव र उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराद्वारा शुक्रबार कलैयामा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमका अवसरमा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको हो।

पत्रकारिताको माध्यमबाट अपराध रोकथाम तथा नियन्त्रण, शान्ति सुरक्षा कायम र जनचेतना अभिवृद्धिमा इमानदारीपूर्वक महत्वपूर्ण योगदान पुर्‍याएको कदर गर्दै सम्पादक यादवलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा यादवलाई कदरपत्र प्रदान गरेका थिए।

सम्मानपछि प्रहरी र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले नेपाल प्रहरी र सञ्चारकर्मीबीचको समन्वय तथा सहकार्य आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले अपराध नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन, सुशासन र जनहितका विषयलाई उजागर गर्दै आएका सञ्चारकर्मीलाई गरिएको सम्मानले जिम्मेवार पत्रकारितालाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्