पथलैया–हेटौँडा सडकमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गढिमाइ खबर
29 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित कुइक ट्वान्टी होटलअगाडि पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान करिब ५ बजे हेटौँडा–पथलैया सडक खण्डमा प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडीले पैदल हिँडिरहेका करिब ६०–६५ वर्षीय रामबहादुर थिङलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालक गाडी लिएर फरार भएका थिए।

घटनाबारे बिहान ५ः३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ हवल्दार प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। टाउकोमा गम्भीर चोट लागेका थिङलाई प्रहरीले आफ्नै सवारी साधनमा तत्काल वीरगन्जस्थित नारायणी अस्पताल पठाएको थियो।

अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः०३ बजे चिकित्सकले ईसीजी परीक्षणपछि थिङलाई मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको जनाइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा पाँच जनाको टोलीसमेत घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न पिकअप गाडी र चालक महोत्तरीको बर्दिवास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्