प्रशासन कार्यालयका कर्मचारीसँगै बसेका बैंक कर्मचारी पार्टी प्यालेसमा मृत फेला

गढिमाइ खबर
278 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

श्यामबाबु यादव
बारा, १६ माघ
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर–५ स्थित लालबाबु यादवद्वारा सञ्चालनमा रहेको हिमानि पार्टी प्यालेसमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

नवील बैंक बिरगंजमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा फेला परेका थिए। तत्कालै जानकारी पाएपछि पुगेको प्रहरी टोलीले जाँच गर्दा ठाकुरको मृत्यु भइसकेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।

मृतक ठाकुर सप्तरी जिल्ला घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३, प्रगति नगरमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार घटनास्थलमा ठाकुरसँगै जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी तथा प्रमुख जिल्ला अधिकारीका निकट व्यक्ति भनिएका राजेशराज उपाध्याय पनि रहेको खुल्न आएको छ। प्रारम्भिक अनुसन्धानमा दुवै जनाले रातिदेखि कोठाभित्र ‘खैरो जस्तो देखिने पदार्थ’ नाकमार्फत सेवन गरेको र त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

घटना आज बिहान करिब ९ बजेतिरको भएको बताइएको छ। यद्यपि मृत्युको वास्तविक कारण पुष्टि हुन बाँकी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाइएको जनाएको छ भने घटनासँग सम्बन्धित सबै पक्षको गहिरो अनुसन्धान अगाडि बढाइएको छ।

साझा गर्नुहोस्