कलैया-महागढीमाई सिमा विवादले उग्र रूप लिँदा दुवै पालिकाका नगर प्रहरीबीच झड

गढिमाइ खबर
7 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२६ स्थित सिस्वा–महेशपुर क्षेत्रमा मंगलबार साँझ सिमा विवाद उग्रिँदा कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ।

घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन्। छठिया पोखरी नजिक संघीय सरकारअन्तर्गत सञ्चालित खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको बताइएको थियो । निर्माण भइरहेको संरचनामा महागढीमाई नगरपालिकाका नगर प्रहरी पुगेपछि “यो क्षेत्र आफ्नो पालिकाभित्र पर्ने” दाबी गर्दै काम रोक्न खोजिएको स्थानीयले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार निर्माणाधीन संरचनाको बिम र रड हटाउने प्रयास भएपछि दुवै पक्षबीच चर्काचर्की भएको थियो। केहीबेरमै अवस्था तनावपूर्ण बन्दै झडपमा परिणत भएको स्थानीयवासीले बताएका छन्।

कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार झडपमा लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन्। उनीहरूको बयोधा अस्पताल मा उपचार भइरहेको छ।

त्यसैगरी महागढीमाई नगरपालिका तर्फका नगर प्रहरी धर्मराज यादव पनि घाइते भएका छन्। नगर प्रहरी इन्चार्ज अनिल लहेराका अनुसार घाइते यादवको एलएस न्युरो अस्पताल मा उपचार भइरहेको छ।

स्थानीयका अनुसार कलैया–महागढीमाई सिमाअन्तर्गत पर्ने छठिया पोखरी क्षेत्र लामो समयदेखि विवादित रहँदै आएको छ। सिमा निर्धारण स्पष्ट नहुँदा बेला–बेला दुवै स्थानीय तहबीच तनाव सिर्जना हुने गरेको छ।

साझा गर्नुहोस्