कलैया : बाराको सदरमुकाम कलैयामा विभिन्न माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले घोषणा गरेको अनिश्चितकालीन यातायात बन्दको घोषणा सहमतिपछि खुलाईएको छ।
बस,म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघहरुले विभिन्न माग राख्दै बुधबारदेखि कलैयाको भरत चोकमा गाडी रोकेर यातायात बन्द गरेका थिए ।
व्यवस्थित पार्किङको व्यवस्था नरहेको,लाइसेन्स,रुट प्रमिट र अनुमतिपत्र बिना सवारीसाधन सडक चलाएको,गाडीको क्षमतामा भन्दा बढी यात्रु बोक्ने,दुर्घटना बढ्दै,जथाभावी सवारीसाधन सडकमा चलाएको,बसको अगाडि अटो आउछ अनि साइड नदिने भन्दै अनिश्चितकालीन सवारी साधन बन्द गरेको आन्दोलन समितिका अध्यक्ष रामजी प्रसाद पटेलले बताए ।
“अटोहरु स्थानीय तह संग अनुमति लिएको छ भने पालिका भित्र चलाउनु प¥यो तर अटोहरुले नियम उलंघन गरि चलाउछ प्रशासनले नदेखे जस्तै गर्दै छ” उनले भने । साथै दुर्घटना न्यूनीकरण गर्न क्षमता अनुसार गाडीमा यात्रुहरुलाई बोक्न उनले आग्रह गरेका छन् ।
यसैविच जिल्ला प्रशासन कार्यालय बाराको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उनको कार्यकक्षमा बसेको बैठकले छ सुत्रीय निर्णय गर्दै यातायात खोलेको हो । बैठकले सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा यस अघी भएका सहमति पूर्ण कार्यन्वयन गर्न सबै सरोकारवालाहरुले सहयोग एवं समन्वय गर्ने निर्णय गरेको छ।
असार २७ गते शुक्रबारदेखि एकतर्फी पूर्ण कार्यान्वयन गर्ने र वीरगंज सेक्टरका सवारी साधन बसपार्क हुँदै आलोपालो दासगेष्ट हाउस अगाडी यात्रु राखी हिंडेपछी बालमन्दिर अगाडी मात्र रोक्न पाइने निर्णय भएको हो। काठमाण्डौँ नारायणगढ रुटमा संचालन भईरहेको सुमो र इभी आलोपालो गरी बसपार्कबाट आई राम मन्दिरपूर्व पट्टीको खाली ठाँउमा यात्रु चढाएर गन्तव्यतर्फ जाने निर्णय भएको गरीएको जनाईएको छ ।
तीनपाङ्गग्रे सवारी साधनलाई अत्यावश्यक वाहेकको अवस्थामा बाहेक अन्तरपालिका संचालन गर्न पूर्ण रोक लगाउने निर्णय भएको छ। यता साथै यातायात व्यवसायीहरुले बुधबारदेखि बन्द गरिएको सार्वजनिक यातायात तत्काल खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
सहमतिका लागि भएको बैठकमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख सरोज निरौला,जिल्ला ट्राफिक कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी,अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रहरी सहायक निरीक्षक सुधिर कुमार साह,सम्पुर्ण बारा यातायात प्रालिका अच्युत पौडेल,पुरानो नारायणी यातायात प्रालिका रामजी प्रसाद पटेल,बारा गढिमाई यातायात प्रालिका धर्मेन्द्र उपाध्याय,देवानन्द साह,आन्दोलन समिति,सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो।









