जीतपुर : पर्सा राष्ट्रिय निकुञ्जले बाराको अमलेखगञ्ज जंगल क्षेत्रबाट शुक्रबार बिहान बाघ नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको बाघ करिब १३ वर्ष उमेरको वयस्क भाले रहेको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले जानकारी दिए।
विगत तीन महिनादेखि स्थानीयवासीलाई आतंकित पार्दै आएको सो बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको थियो। बाघ नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएलको विज्ञ टोली, नेपाली सेना, नेपाल प्रहरी, हात्तीसार अमलेखगञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, स्थानीय जनप्रतिनिधि, पत्रकार र सामुदायिक वन उपभोक्ता समूहहरू खटिएका थिए। पथलैया–अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार जंगलमा देखिएको बाघलाई हात्तीको सहायतामा पत्ता लगाई डार्ट हानेर बेहोस बनाइएको थियो।
त्यसपछि बाघलाई निकुञ्ज कार्यालयस्थित खोरमा राखिएको वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका–१ का ६० वर्षीय छेवाङ लामा, वडा नं.२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र ५० वर्षीय रमेश कार्की, साथै वडा नं.२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो।
बाघको आतंक नरोकिएपछि स्थानीयले पटक–पटक बाघ नियन्त्रणको माग गरेका थिए। पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय ले सफलतापूर्वक नियन्त्रणमा लिन सहयोग गर्ने सम्पूर्ण पक्षलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छन्।









