बारामा पाडा खोज्न हिडेका फुयाल जंगलभित्र मृत भेटिए

गढिमाइ खबर
39 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गियाबस्तीका देवीप्रसाद फुयालको जंगलमा शव भेटिएपछि प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ। घटनास्थलको प्रकृति र शव भेटिएको अवस्थालाई ध्यानमा राख्दै प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ।

काटघाटस्थित सहजनाथ महादेव मन्दिरको दक्षिणतर्फ रहेको जंगलमा आइतबार फुयालको शव फेला परेको हो। वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलका अनुसार टाङ्गियाबस्तीको १० नम्बर टोलका फुयाल साइकलसहित मृत अवस्थामा भेटिएका थिए।

स्थानीयका अनुसार फुयाल पाँडो चराउने काम गर्थे। शुक्रबार चराउन लगेको पाँडो हराएपछि उनी शनिबार साइकल लिएर जंगलतर्फ खोज्न गएका थिए। हराएको पाँडो शनिबार साँझ घर फर्किए पनि फुयाल नफर्किएपछि परिवारले उनको खोजी थालेको थियो।

खोजीका क्रममा आइतबार जंगलमा साइकलले शरीर थिचिएको अवस्थामा शव भेटिएको बताइएको छ। घटनास्थलबाट करिब एक सय मिटर टाढा फुयालले लगाउने चप्पल भेटिएपछि घटनाबारे थप प्रश्न उठेको स्थानीयको भनाइ छ।

घटनाको जानकारी पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख घटनास्थल पुगेका थिए। सुरक्षा अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी सम्भावित कारण र घटनाक्रमबारे आवश्यक प्रमाण संकलन थालेका छन्।

अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुर परिचालन गरिएको वडाध्यक्ष खरेलले बताए। प्रमुख जिल्ला अधिकारी मिश्राले घटनाको सूक्ष्म अनुसन्धान गरी घटनाको वास्तविकता सार्वजनिक गर्ने गरी सुरक्षा निकायले काम गरिरहेको बताएका छन्।

फुयालको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको छ। पोस्टमार्टम तथा घटनास्थलबाट संकलन हुने प्रमाणका आधारमा मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

फुयालको मृत्युको विषयमा स्थानीयले समेत चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले घटनासँग जोडिएका सबै पक्षको अनुसन्धान गरी यथार्थ बाहिर ल्याउन प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरेका छन्।

साझा गर्नुहोस्