मधेश प्रदेशमा प्रसौनी गाउँपालिका दोस्रो सर्वोत्कृष्ट

गढिमाइ खबर
93 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

 प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा प्रसौनी गाउँपालिकाले ७०.२४ अंक प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट तथा मधेश प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ।

आयोगले देशभरका स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय अनुशासन, पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरेको हो।

सार्वजनिक नतिजाअनुसार मधेश प्रदेशमा पर्सागढी नगरपालिका ७२.९९ अंकसहित पहिलो स्थानमा रहेको छ भने प्रसौनी गाउँपालिका ७०.२४ अंकसहित दोस्रो स्थानमा र पटेर्वा सुगौली गाउँपालिका ६७.९९ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

बारा जिल्लाभित्रका अन्य स्थानीय तहहरूमध्ये परवानीपुर गाउँपालिकाले ६५.१७, पचरौता नगरपालिकाले ५६.३३, सिम्रौनगढ नगरपालिकाले ५१.३५, करैयामाई गाउँपालिकाले ५०.४५, देवताल गाउँपालिकाले ५०.३२, आदर्श कोटवाल गाउँपालिकाले ५०.१० अंक प्राप्त गरेका छन्।

त्यसैगरी विश्रामपुर गाउँपालिका ४९.६३, कलैया उपमहानगरपालिका ४९.५७, फेटा गाउँपालिका ४९.५५, महागढीमाई नगरपालिका ४९.३१, जितपुरसिमरा उपमहानगरपालिका ४८.३९, निजगढ नगरपालिका ४१.४७, बारागढी गाउँपालिका ४१.०८, कोल्हवी नगरपालिका ३९ तथा सुवर्ण गाउँपालिकाले ३७.९६ अंक प्राप्त गरेका छन्।

प्रसौनी गाउँपालिकाले हासिल गरेको यो उपलब्धिलाई संस्थागत गर्न निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।

गाउँपालिकाले पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह र वित्तीय व्यवस्थापनमा देखाएको प्रतिबद्धताका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाइएको छ।

गाउँपालिकाको यो सफलता समग्र बारा जिल्लाकै गौरवको विषय बनेको छ। स्थानीय तहको क्षमता अभिवृद्धि र सुशासन प्रवर्द्धनमा यस्तो मूल्याङ्कनले सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्