बारा जिल्लामा निर्वाचन प्रहरी भर्नामा व्यापक आर्थिक चलखेलको आरोप

गढिमाइ खबर
442 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

लिखित परीक्षा ‘नाटक’ जस्तै, ५–८ हजार असुली गरी छनोट गरिएको स्रोतको दाबी

श्यामबाबु यादव

कलैया १४ माघ।

बारा जिल्लामा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि गरिएको निर्वाचन प्रहरी भर्ना छनोट प्रक्रियामा व्यापक आर्थिक चलखेल भएको गम्भीर आरोप सार्वजनिक भएको छ।

निर्वाचन प्रहरी छनोटको लिखित परीक्षामा नपढी, नलेखी उम्मेदवारहरू समेत पास गराइएको र प्रतिउम्मेदवार ५ हजारदेखि ८ हजार रुपैयाँसम्म असुली गरी छनोट गरिएको स्रोतले दाबी गरेको छ।

नाम नछाप्ने सर्तमा एक जना उम्मेदवारले आफूबाट ८ हजार रुपैयाँ बुझाएर छनोटमा परेको बताएका छन्। स्रोतका अनुसार प्रहरी प्रशासनकै केही व्यक्तिहरूले सबै उम्मेदवारहरूको WhatsApp नम्बरमा फोन गरी पैसा मागेको र सोही आधारमा नाम छनोट सूचीमा समावेश गरिएको हो। स्रोतको दाबी अनुसार यस प्रक्रियामार्फत एक करोड रुपैयाँभन्दा बढी रकम असुली गरिएको छ।

बारामा निर्वाचन प्रहरीका लागि ८ हजार ४३७ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक स्वास्थ्य परीक्षण तथा तन्दुरुस्ती परीक्षा पास गर्ने ६ हजार ४९४ जना उम्मेदवारलाई लिखित परीक्षामा सहभागी गराइएको थियो। तर, लिखित परीक्षामा निष्पक्ष मूल्यांकन नभई “सेटिङ मिलाएकाहरूलाई मात्र पास गराइएको” स्रोतको आरोप छ।

लिखित परीक्षाबाट ५ हजार ९ सय ७९ जना पास गराइएको देखिए पनि सो प्रक्रिया केवल औपचारिकता पूरा गर्न नाटक शैलीमा गरिएको स्रोतको भनाइ छ। जबकि बारामा आवश्यक निर्वाचन प्रहरी संख्या ४ हजार ३४ जना मात्र रहेको थियो।

यस विषयमा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमितिका संयोजक तथा बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन।

साझा गर्नुहोस्