कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा मंगलबार राति एक यात्रु बाहक बस बाट छ किलो अबैध चाँदी बरामद गरेको छ।
प्रहरी चौकी पथलैयाका प्रहरी सहायक निरिक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसबाट उक्त चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।
उक्त यात्रु बाहक बसलाई रोकी जाँच गर्दा बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुनबाट चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको निम्न वमोजिमको चाँदी जस्तो देखिने रेडिमेड गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।









