कलैया :नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा महोत्तरीको बर्दिबासमा रहेको श्री मध्यपुर्वी पृतना हेडक्वाटरको सहकार्यमा भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको हो।अभिमुखिकरण कार्यक्रममा मध्यपुर्वी पृतना अन्तर्गत पर्ने ११ जिल्लाका २७ जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपाली सेना र सञ्चार जगत बीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले सो अभिमुखिकरण कार्यक्रम गरिएको हो। आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सो अभिमुखीकरण कार्यक्रम भएको हो।
तालिम समापनको अवसरमा विगत १० वर्षदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम नि.शुल्क प्रसारण गरेको भन्दै सञ्चार माध्यमलाई सम्मान गरिएको थियो। नागरिक– सैनिक सम्बन्ध सुदृढ गराउन तथा आम नागरिकलाई सैनिक गतिविधिबारे सुसूचित गराई नेपाली सेनाको छवि प्रवद्र्धन गर्न पु¥याउने रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्ज, महोत्तरीको रेडियो अपन मिथिला,सिन्धुलीको रेडियो सिद्धबाबा र रामेछापको हजुरको रेडियोलाई नगद र कदर पत्र सहित सम्मान गरिएको हो। यी एफएमहरुलाई जनसम्पर्क महाशाखाका प्रमुख एवम् महासेनानी हरि बहादुर विश्वकर्माले सो अवसरमा सम्मान गरेका थिए।
मध्यपुर्वी पृतना हेडक्वाटर्स बर्दिबासका निमित्त पृतनापति भुवन खत्रीले सहभागी २७ जना विभिन्न माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।सो कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त पृतनापती खत्रीले सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने अभिमुखिकरण कार्यक्रमले विश्वास लिएको बताए।
उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई सेनाको सांठनिक स्वरुपको बारेमा जानकारी दिइएको थियो। सेनाको भूमिका तथा सेना अन्तर्गतका विभिन्न निकायहरुको काम,कर्तव्य र जिम्मेवारीको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गरिएको थियो ।
सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी सबिन विक्रम कुवरले गरेका हुन्।









