पकहाँमैनपुर गाउँपालिकामा तनाव: अध्यक्षद्वारा कर्मचारीमाथि धम्की र दुर्व्यवहारको आरोप

गढिमाइ खबर
89 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

पर्सा ,२९ माघ /

पकहाँमैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश प्रसादविरुद्ध कर्मचारीहरूले गम्भीर आरोप लगाएका छन्। गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षबाट पटक–पटक धम्की, गालीगलौज तथा अमर्यादित व्यवहार भएको बताएका छन्।

कर्मचारीहरूको आरोपअनुसार अध्यक्षले कानुन विपरीत तजबिजका आधारमा स्वार्थपूर्ण काम गराउन खोज्ने गरेका छन्। त्यस्तो काम गर्न इन्कार गर्दा धम्कीपूर्ण अभिव्यक्ति दिने, आसेपासेमार्फत धाकधम्की गराउने र कार्यालयको कार्य वातावरण बिथोल्ने कार्य हुँदै आएको विज्ञप्तिमा उल्लेख छ। साथै भौतिक आक्रमणको दुरुत्साहन तथा प्रयाससमेत भएको दाबी गरिएको छ।

‎विशेषगरी मिति २०८२ माघ २८ गते साँझ करिब ४ देखि ५ बजेसम्म अध्यक्षले आफ्नै कार्यकक्षमा आसेपासेलाई सँगै राखी केही कर्मचारीहरूलाई बोलाएर धम्की दिएको र अमर्यादित व्यवहार गरेको कर्मचारीहरूको भनाइ रहेकाे छ।

राज्यका जिम्मेवार राष्ट्रसेवक कर्मचारीलाई कार्यस्थलमै असुरक्षित महसुस हुने अवस्था सिर्जना भएको भन्दै कर्मचारीहरूले घोर निन्दा तथा भर्त्सना गरेका छन्। प्रचलित कानुनअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्व पूरा गर्दा बारम्बार दुर्व्यवहार भोग्नुपरेको उनीहरूको गुनासो छ।

कर्मचारीहरूले स्थानीय कार्यपालिका, स्थानीय प्रशासन तथा सम्बन्धित सबै सरोकारवालासँग कार्यालयमा सुरक्षित र सहज कार्य वातावरण निर्माणका लागि पहल गर्न माग गरेका छन्। यस्ता गतिविधि पुनः दोहोरिएमा सेवा प्रवाह प्रभावित हुन सक्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी पनि कर्मचारीहरूले दिएका छन्।

यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश प्रसादसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

साझा गर्नुहोस्