आमा–छोरा हत्या, बुवा र छोरी गम्भीर घाइते

गढिमाइ खबर
130 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

श्याम यादव
परवानीपुर,१४ माघ

बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको छ।

मृत्यु हुनेमा २८ वर्षीय रामेश्वर मण्डल (छोरा) र ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल (आमा) रहेका छन्। बारा प्रहरीका अनुसार अज्ञात व्यक्तिले रातिको समयमा घरमा प्रवेश गरी धारिलो हतियार प्रयोग गरेर आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

उक्त आक्रमणमा परिवारकै ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल (बहिनि ) गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

बारा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। “हत्या कसले र किन गरेको भन्ने विषयमा खोजबिन जारी छ,” प्रवक्ता पण्डितले जानकारी दिनुभयो। तर घटनाको कारण र अभियुक्तबारे हालसम्म प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।

प्रहरी चौकी नजिकै भएको यस्तो जघन्य घटनाले जिल्लाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरू प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको आरोप लगाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरिरहेका छन्। घाटनापछि रहरियाडी क्षेत्र शोक र त्रासमा डुबेको छ।

साझा गर्नुहोस्