रञ्जन यादब/
इलाका प्रहरी कार्यालय सिमराले गोठबाट चोरी भएको पाडो कोल्हवी मधुवनबाट नियन्त्रणमा लिएको छ ।जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २० का ६० वर्षीय मोहताव देवानको गोठबाट पाडा चोरी भएको थियो ।
एक साता अघि चोरिएको पाडो सहित चोर पक्राउ परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । चार वर्षको पाडो चोरी भएपछि देवानले वडाध्यक्ष र समाजका अगुवालाई भेटेर पाडा खोजी गरिदिन आग्रह गरेका थिए ।
आर्थिक अवस्था कमजोर देवानको सम्पत्तीको नाउँमा दुईवटा पाडो र हल मात्र रहेको छ । उनी पाडोको सहयोगमा अरुको खेत जोत्ने र गाडा चलाएर वस्तुको दानापानी र परिवारको गुजारा चलाउँदै आएका छन्। सार्वजनिक बाटो छेउको जग्गामा बनेको कच्ची घरमा एक छेउमा गोठ र अर्को छेउमा देवानको तीन जनाको परिवार बस्दै आएको छ ।