बारा : बारामा श्री पञ्चमी पर्व सोमबार धुमधामका साथ मनाईएको छ ।जिल्लाको १६ पालिकामा रहेको सामुदायिक तथा संस्थागत विद्यालयमा श्री पञ्चमी पर्व धुमधामका साथ मनाईएको हो।
सरस्वती पूजाको अवसरमा जिल्लाका विद्यालयहरुमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। गाउँ गाउँमा बिधार्थीहरुले सरस्वती पूजा गरेका छन।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी,हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको भारती,शारदा,हंसवाहिनी,जगन्माता,वागीश्वरी,कौमारी,वरदायिनी,बुद्धिदात्री,ब्रह्मचारिणी,चन्द्रघण्टा र भुवनेश्वरी जस्ता थुप्रै नाम छन्।
देवी सरस्वतीलाई विद्या र सिर्जनाकी देवीको रुप मानिने भएकाले विशेष गरी शिक्षक,विद्यार्थी,पत्रकार,साहित्यकार,कलाकारहरुले आआफ्ना कला–साधनाका वस्तुहरु कलम,कापी,कुची र वाद्ययन्त्रलाई देवी सरस्वतीको रुपमा पूजा गर्दछन् ।
आजबाट वसन्त ऋतुको शुरुवात हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो । आजको दिनमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन साना नानीहरुलाई शिक्षारम्भ गराइन्छ भने नाक–कान छेड्नका लागि पनि आजको दिन शुभ मानिन्छ ।









