रौतहट । करण कुमार मिश्र / रौतहटको गरुडा नगरपालिका वडा नं. १ जयनगरस्थित श्री माध्यमिक विद्यालयमा अपाङ्गता तथा बालमैत्री पक्की आर.सी.सी. विद्यालय भवन र शौचालय निर्माण कार्यको शिलान्यास गरिएको छ।
शुक्रबार एक विशेष भव्य कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवार र वडा नं. १ का वडा अध्यक्ष शेख वहाबले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गर्नुभएको हो।
अस्ट्रेलियन एड (Australian Aid), डब्ल्यु.भी.आई. नेपाल (WVI Nepal) र आर.आर.पी.के. (RRPK) को आर्थिक तथा प्राविधिक सहयोग एवं गरुडा नगरपालिकाको कार्यालयसँगको समन्वयमा यो निर्माण कार्य अघि बढाइएको हो।
कुल ५५ लाख ९२ हजार २३५ रुपैयाँको लागतमा दुई कोठे एक तल्ले विद्यालय भवन र अपाङ्गतामैत्री शौचालय निर्माण हुन लागेको हो। उक्त आयोजनाको निर्माणको जिम्मा शाश्वत कन्स्ट्रक्सन प्रा.ली. कोहलपुर, बाँकेले पाएको छ भने आगामी वैशाख महिनाभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आधुनिक र बालमैत्री संरचना बन्ने भएपछि विद्यालयको शैक्षिक वातावरण थप सुधारिने र विशेष क्षमता भएका बालबालिकालाई पठनपाठनमा सहज हुने विश्वास लिइएको छ।
शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेख चान्द अलि, विद्यालयका सम्पूर्ण शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। साथै गाउँका भद्रभलाद्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको समेत उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।




