बारा । बाराको सुवर्ण गाउँपालिकाले गाउँपालिकाभित्र बढ्दै गएको चोरीका घटना नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायसँगको समन्वयमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा मंगलवार बसेको बैठकले स्थानीय स्तरमा चोरी नियन्त्रण गर्ने र गाउँपालिकाभरि शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा विभिन्न निर्णय गरेको हो।
बैठकले गाउँपालिकाका विभिन्न वडामा भएका चोरीसम्बन्धी घटनाको आवश्यक छानबिन तथा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रहरी चौकीका इन्चार्जसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीलाई समेटेर टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरिएको छ।
समितिमार्फत गाउँपालिकाका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाउने, सूचना प्रवाहलाई सहज बनाउने तथा चोरीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्य राखिएको छ।
त्यसैगरी, गाउँपालिका प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त परिचालनमार्फत गाउँपालिकाभरि शान्ति सुरक्षा कायम राख्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकमा गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, सशस्त्र प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक तथा विभिन्न प्रहरी चौकीका प्रतिनिधि र नगर प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा चोरीका घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन बैठकले जोड दिएको छ।
सुवर्ण गाउँपालिकामा चोरी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गरिने
साझा गर्नुहोस्




