करैयामाई गाउँपालिकामा स्यानिटरी प्याड खरिदमा व्यापक अनियमितता

गढिमाइ खबर
25 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा, १४ मंसिर/

करैयामाई गाउँपालिकामा स्यानिटरी प्याड खरिद प्रक्रियामा व्यापक अनियमितता र भष्ट्राचार भएको तथ्य लेखा परीक्षण प्रतिवेदनमार्फत सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गरिएका दुई चरणका खरिद प्रक्रियामा ८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको लेखापरीक्षणले औंल्याएको हो।

लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले आरभी एण्ड विष्णु सप्लायर्स प्रा.लि.बाट ५,१६० थान स्यानिटरी प्याड खरिद गरी रु. ३ लाख ९६ हजार ४ सय ९४ भुक्तानी गरेको देखिन्छ। पहिलो चरणमा ११ विद्यालयलाई वितरण गरिएको दाबी गरिएको भए पनि सो वितरणको कुनै पनि प्रमाण (भर्पाई) गाउँपालिकाले पेश गर्न सकेको छैन।

त्यसैगरी, २०८१/०३/२३ मा दोश्रो चरणमा गाउँपालिकाले १०,७०० थान प्याड खरिद गरी त्रिवेणी ट्रेड लिंकलाई रु. ८ लाख २२ हजार १ सय ८८ भुक्तानी दिएको उल्लेख छ। तर यी प्याडहरू पनि लेखापरीक्षणको मितिसम्म विद्यालयमा वितरण नगरी मौज्दातमै राखिएको भेटिएको प्रतिवेदनमा उल्लेख छ।

स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ का बुँदा ४ र ५ ले प्याड सुरक्षित रूपमा भण्डारण गर्नुपर्ने र चौमासिक वा अर्धवार्षिक रूपमा विद्यालयमा वितरण गर्नुपर्ने स्पष्ट व्यवस्था गर्दछ। तर गाउँपालिकाले वर्षान्तमा मात्र प्याड खरिद गरी सही तरिकाले न भण्डारण गरेको, न त समयमै विद्यालयमा वितरण गरेको पुष्टि भएको छ।

भण्डारण गर्दासमेत गुणस्तरअनुसार सुरक्षित रूपमा राखिएको नदेखिएको लेखापरीक्षण प्रतिवेदनले टिप्पणी गरेको छ। यसबाहेक, खरिद तथा वितरणको समयमा गाउँपालिकामा निमित्त कार्यालय प्रमुख विरेन्द्र महतो रहेको उल्लेख छ।

लेखापरीक्षकले ८ लाख २२ हजार १ सय ८८ रुपैयाँ बराबरको वितरण प्रमाण (भर्पाई) नपेश गरिएको भन्दै पालिकालाई गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनले उक्त रकम हिनामिना भएको आशंका सहित औपचारिक स्पष्टीकरण माग गरिएको जनाएको छ।


साझा गर्नुहोस्