कलैया : बाराको कलैया उपमहानगरपालिका–५ स्थित पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा कक्षाकोठामा झुण्ड्याइएको पंखा अचानक झरेको छ। जसले गर्दा कक्षा ८ मा अध्ययनरत लक्ष्मी कुमारी कुशवाहा घाइते भएकी छिन् ।
पंखा खस्दा लक्ष्मीको ओठमा गम्भीर चोट लागेको छ। उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा चारवटा टाका लगाइएको उनका अभिभावक राजिनन्द प्रसादले जानकारी दिए।
विद्यार्थीहरूका अनुसार उनीहरूले विद्यालय प्रशासनलाई पटक–पटक पंखा मर्मत गर्न अनुरोध गरे पनि विद्यालयले बेवास्ता गर्दै आएको आरोप लगाएका छन्।
यता विद्यालयका प्रधानाध्यापक मोतीलाल यादवले घटनाप्रति दुःख व्यक्त गरे। उनले तत्काल छानबिन सुरु गरिएको र यस्ता घटना दोहोरिन नदिने बताएका छन्।