सन्दिप प्रसाद यादव/
बारामा पानीको बोतलमा किरा भेटिएपछि उद्योग शिल गरिएको छ ।
जिल्लाको प्रसौनी गाउँपालिका वडा नं ३ स्थित सञ्चालित नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय बाराले सिलबन्दी गरेको छ ।
उधोगले बजारमा बिक्रीका लागि पठाएको पानीको बोतलमा किरा भेटिएको गुनासो आएपछि अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालय बाराको टोलीले नेशनल पानी उद्योगमा सिलबन्दी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा प्रसाद आचार्यको नेतृत्वमा प्रहरी सहितको टोलीले मङ्गलवार दिउँसो उद्योगलाई सिल गरि त्यहाँ रहेको पानी नियन्त्रणमा लिएको छ ।
उद्योग मापदण्ड अनुसार सञ्चालित नरहेको,सरसफाइ नगरेको र पानीको गुणस्तरमा समेत शङ्का लागेपछि प्रहरीको सहयोगमा सिलबन्दी गरेको उनले बताए ।उद्योगका सञ्चालक विजयकुमार यादवलाई समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो ।
उनलाई हाजिरी जमानतमा छोडेको छ । नेशनल पानी उद्योगका कागजातहरु आवश्यक अनुसन्धानकोलागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित राहुल सेकुवा पसलमा विक्रिकोलागि राखिएको शिलरहित बोतलको पानीभित्र माकुरा भेटिएको स्थानियले गुनासो गरेका थिए ।
नेशनल पानी नाम रहेको पानीको बोतलभित्रको पानी दुषित र फोहोर रहेको गुनासो आएपछि परिक्षणको लागी केही नमुना संकलन गरि जनकपुरको ल्याबमा पठाइएको अचार्यले बताउनुभयो ।
त्यस्तै कलैया भरतचोक स्थित रहेको एक पान पसलबाट कमिला भएको नेशनल पानी फेला परेको थियो ।एक ग्राहकलाई पसलेले पानीको बोतल दिईरहँदा शिल रहेकै बोतल भित्र कमिला देखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराले नेशनल पानी उद्योगको पानी बिक्रिबितरणमा प्रतिबन्ध लगाएको छ ।