कलैया : बाराको सुवर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गरेको छ।
शिक्षा,स्वास्थ्य,पूर्वाधार,खेलकुद,सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले गाउँपालिकाको १५ औं अधिवेशनमा बजेट पेश गरेका हुन्। आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको नीति कार्यक्रम तथा बजेट गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक गरेका हुन्।
संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोडको आय हुने प्रक्षेपण गरिएको छ। संघीय सरकार राजस्व बाँडफाँड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१ रुपैयाँ आय हुने प्रक्षेपण गरिएको छ। संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाखको आय प्रक्षेपण गरिएको छ। आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण वित्तीय समानिकरण तर्फ ६८लाख ७७ हजार,प्रदेश सरकार विषेश अनुदान तर्फ २५ लाख,समपुरक अनुदान २५ लाख,राजस्व बाँडफाँड ५१ लाख २६ हजार ३ सय,सशर्त अनुदान ८० लाखको आय प्रक्षेपण गरेको छ। गत अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ ७२ पैसा र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट प्राप्त हुने अनुमानित रकम ५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।
गाउँपालिकाको सिमांकन र नामाकरणमा अहम भूमिका निर्वाह गरेका संविधानसभा सदस्य स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक निर्माण गर्नेबारेमा प्रस्ताव गरिएको छ।
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा २०८२ असार १८ गते निधन भएको थियो ।
गाउँपालिका का किसानहरुले प्रयोग गरिने कृषि मिटरको महसुल गाउँपालिकाबाट बेहोर्ने नीति कार्यक्रममा ल्याइएको छ। गाउँपालिका भित्रका ईच्छुक किसानलाई व्यवसायिक फलफुलको खेती गर्नको निम्ति फलफूलको बिरुवा वितरण तथा व्यवसायिक खेती गर्नको लागि सिपमुलक तालिमको आवश्यक बजेटको व्यवस्थापन गरिने नीति गाउँपालिकाले ल्याएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा पालिका तथा सम्पूर्ण वडाबाट संकलन गरिने राजस्व पुर्ण रुपमा अनलाइन प्रणाली मार्फत संकलन गरिने आवश्यक व्यवस्था मिलाइने जनाइएको छ। राजस्व संकलनको अवस्थालाई दृष्टिगत गरी उत्कृष्ट वडालाई पुरस्कार दिने जनाइएको छ। उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मानित समेत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी,१ का वडा अध्यक्ष रामबिदया राउत अहिर,२ का वडा अध्यक्ष रन्जित प्रसाद यादव,३ का वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव,४ का वडा अध्यक्ष झकड प्रसाद यादव,५ का वडा अध्यक्ष रामएकबाल प्रसाद साह,६ का वडा अध्यक्ष शिवधारी दास तत्मा,७ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव,८ का वडा अध्यक्ष शैबुल्लाह मिया कुजडाको विशेष सहभागिता रहेको थियो। यस्तै वडा सदस्य,गाउँ कार्यपालिका सदस्य,जनस्वास्थ्य अधिकृत सुजित कुमार यादव,लेखा अधिकृत प्रिन्स साह,ज्येष्ठ नागरिक ब्यास राय यादव,युवा नेता सतेन्द्र यादव,जसपा नेपाल पार्टीका धर्मवीर यादव, कर्मचारी तथा सञ्चारकर्मी, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत प्रमुख प्रसासकीय अधिकृत श्याम चौधरीको थियो। संचालन पोषण सहजकर्ता अखिलेशकुमार यादवले गरेका थिए।









