बारा । वातावरण संरक्षण र नगर क्षेत्रलाई सफा तथा व्यवस्थित बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ सुरु गरेको छ। उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि अब कानुनी कारबाही गरिने जनाएको हो।
बिहीबार जारी गरिएको सार्वजनिक सूचनामार्फत उपमहानगरपालिकाले सडक, चोक, नाला, फुटपाथ, सार्वजनिक स्थल तथा नदी–नालामा फोहोर फाल्ने कार्य पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ। फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा स्थानीय फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
उपमहानगरपालिकाका अनुसार कसुरको प्रकृति हेरेर अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। सामान्य प्रकृतिको फोहोर सार्वजनिक स्थानमा फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ।
यदि सोही व्यक्तिले पुनः त्यस्तै गल्ती दोहो¥याएमा प्रत्येक पटक जरिवानाको रकम दोब्बर हुँदै जाने प्रावधान लागू गरिएको सूचनामा उल्लेख छ।नगर क्षेत्रको सरसफाइ र सार्वजनिक स्वास्थ्यलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। साथै नगरबासीलाई निर्धारित स्थानमै फोहोर व्यवस्थापन गर्न र वातावरण संरक्षणमा सहयोग पु-याउन आग्रह गरिएको छ।





