बारामा हुलाकमार्फत राहदानी वितरण सेवा सुरु

गढिमाइ खबर
35 पाठक संख्या

कलैया । बारामा पनि जिल्ला हुलाक कार्यालय बाराले हुलाकमार्फत राहदानी वितरण सेवा सुरु गरेको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सो सेवाको शुरुआत गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच वैशाख २५ गते हुलाकमार्फत घरमै राहदानी पु-याउने सम्बन्धमा औपचारिक सम्झौता भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख दिपककुमार पटेलको उपस्थितिमा सो सेवा सञ्चालन गर्ने सहमति भएको छ।

जिल्ला हुलाक कार्यालयका खरिदार गौतम सिंह बस्तीले राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने बेला सेवाग्राहीहरूले आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन परे सोही समयमा एउटा सानो फारम भर्नुपर्ने जानकारी दिए। राहदानी आए पछि सम्बन्धित व्यक्तिको घरमा पु-याइदिने उनले जनाए।

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा यस बुँदालाई समेटेको हो। सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजातहरू घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने सरकारले निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयनसँगै सेवाग्राहीले यो सहज सेवा उपभोग गर्न पाउने भएका हुन्।

साझा गर्नुहोस्