जनकपुरबाट कांग्रेसको ‘भिजन १०’ सार्वजनिक

गढिमाइ खबर
139 पाठक संख्या

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनकपुरमा आयोजित विशाल आमसभाबाट पार्टीको दीर्घकालीन कार्यक्रम ‘भिजन १०’ सार्वजनिक गरेका छन्। “समुन्नत नेपाल, सम्मानित नेपाली” नारासहित प्रस्तुत उक्त योजना देशको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यमा केन्द्रित रहेको उनले बताए।

‎थापाले घोषणा गरेको १० बुँदे प्रतिज्ञामा सम्मानित जीवन, भविष्यप्रति विश्वास, श्रम र रोजगारी प्रवर्द्धन, किसानमैत्री तथा उत्पादनमुखी कृषि प्रणाली, सर्वसुलभ स्वास्थ्य सेवा र सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा, सुशासन र भ्रष्टाचारमुक्त प्रशासन, मौलिकता र आधुनिकताको सन्तुलन, स्वाभिमानी परराष्ट्र नीति तथा आर्थिक रूपान्तरणजस्ता विषय समेटिएका छन्।

‎सभालाई सम्बोधन गर्दै उनले युवालाई रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, शिक्षा–स्वास्थ्यमा पहुँच विस्तार र प्रशासनिक सुधारमार्फत नागरिकको अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरे। ‘भिजन १०’ कार्यान्वयनयोग्य मार्गचित्र भएको उल्लेख गर्दै उनले चरणबद्ध रूपमा कार्यक्रम अघि बढाइने बताए।

‎आमसभामा करिब एक लाखकाे संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। पार्टीले यस योजनालाई आगामी राजनीतिक कार्यदिशाको आधारका रूपमा अघि बढाउने जनाएको छ।

साझा गर्नुहोस्