गढीमाईखबर डेस्क
पर्सा, ५ चैत /
पर्साको पर्सागढी नगरपालिका–३, बिरुवा टोलमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि गम्भीर घरेलु हिंसा गरेको घटना सार्वजनिक भएको छ।
स्थानीय ३० वर्षीय विशनाथ सहनीले गत चैत १ गते आफ्नी पत्नी हरिकलादेवी सहनीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा उनको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
घटना भएको चार दिन बितिसक्दा पनि आरोपित सहनी फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकका अनुसार अभियुक्तको खोजी कार्य तीव्र पारिएको छ र उनी जङ्गलतर्फ लुकेर बसेको आशंकामा खोजी भइरहेको छ।
यस घटनाप्रति चिन्ता व्यक्त गर्दै पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले घाइते महिलाको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राख्दै अभियुक्तलाई छिट्टै नियन्त्रणमा लिने जनाएको छ।









