बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई रामराजा क्याम्पसद्वारा सम्मान

गढिमाइ खबर
274 पाठक संख्या

कलैया :बाराको कलैयास्थित जिल्लाको सबैभन्दा जेठो क्याम्पस रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसले बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई सम्मान गरेको छ।

क्याम्पसको ४३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभामा सोमबार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खड्कालाई सम्मानित गरिएको हो।

रामराजा क्याम्पसका पूर्व प्रमुख स्व.हरिभूषण कुशवाहाको हत्याका मुख्य अभियुक्तलाई अथक प्रयास गरी पक्राउ गरि सार्वजनिक गरेकोमा खडका सम्मानित भएका हुन्।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले प्रहरी उपरीक्षक खड्कालाई दोसल्ला ओढाई सम्मानित गरेका हुन्।

२०८१ जेठ ३२ गते कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको खजुरिया भन्ने स्थानमा गोली हानी हत्या गरिएको थियो। १७ जना अभियुक्तहरु एकीकृत भई क्याम्पस प्रमुखको हत्या भएको प्रहरीको अनुसन्धानबाट देखिएको हो।बारा प्रहरीले प्रमुख अभियुक्त सुरेन्द्र कुशवाहा सहित अन्यलाई पक्राउ गरी कानुनी प्रकृयामा ल्याएकोले सम्मान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले मंसिर १२ गते बुधबार विराटनगरबाट सुरेन्द्रलाई पक्राउ गरी मंसिर १३ गते बिहीबार सार्वजनिक गरेको थियो। क्याम्पस प्रमुख हरिभुषणको हत्या पश्चात सुरेन्द्र भारत तथा नेपालमा लुकिछिपी वस्दै आएका थिए।

मुख्य आरोपी सुरेन्द्र नेपाली सेनाको भगौडा रहेको समेत प्रहरीले जनाउँदै आएको छ। यसैविच सम्मान ग्रहण गर्दै भावुक भएका प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने, ‘जेठ ३२ गते पाँच बजे मेरो मोबाइलमा आफुले सेभ नगरेको नम्बरबाट फोन आयो,उताबाट रुदै,आवाज आउछ एसपी साहेव म हरिभुषण कुशवाहा रामराजा क्याम्पस प्रमुख मलाइ च्युटाहामा सुरेन्द्र कुशवाहाले गोली हानेको सुनाए।

आफु संगै डिएसपी थिए मैले आफ्नो फोन डिएसपीलाई दिएर कुरा गर्न लगाए । डिएसपीलाई पनि सोही कुरा दोहरिएर आएपछि आफु तुरन्त गाडी निकालेर घटनास्थलतर्फ लागेको उनले जनाए। बाटोमा एम्बुलेन्स क्रस गरेको देखे पछि एम्बुलेन्स रोक्न लगाई कुशवाहालाई हेर्दा निजको अवस्था चिन्ताजनक थियो ।

उनलाई तुरून्त अस्पताल पठाउन लगाए, घटनास्थलमा प्रहरी परिचालन गराई अनुसन्धान शुरू गराए। उनको ७५ वर्षीय वुवा आएर सोध्थे, मेरो छोराको हत्यामा संलग्न रहेकालाई पक्राउ गर्नु भएन। मेरो मुखमा जवाब हुँदैनथ्यो उनले सुनाए।

मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा भारतको पटनामा लुकेर बसेको सूचना पाए। पक्राउ गर्न आफै भारतको पटना पुगे। कैयौ दिन भोकै चियाको भरमा पटनाको गल्ली,रेल्वे स्टेसनमा भौतारे।

सफलता पाउन सकिएन,आफ्नो कैरियरको यो पहिलो केश थियो,जसमा राती सुत्दा खेरी पनि सपनामा अभियुक्तलाई लखेटेको देख्थे प्रहरी उपरीक्षक खड्काले भने ।

मुख्य अभियुक्त कुशवाहालाई मोरङ्गको विराटनगरबाट पक्राउ गर्न सफल भएको बताए। त्यस पछि आफुले क्याम्पस परिवारलाई गरेको वाचा पुरा गर्न सफल हुदा आफ्नो जीवनको कठिन युद्ध जितेको महसुस भएको बताए ।

साझा गर्नुहोस्