अञ्जली गुप्ता/
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १ मा रहेको राजदेवी साङ्गितिक समूहको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राजदेवी साङ्गितिक समूहको २० औं वार्षिक उत्सव तथा बडा दशैंको शुभ उपलक्ष्यमा राजदेवी मन्दिरको प्राङ्गणमा आइतवार रक्तदान गरौं जीवन दान भन्ने नारा सहित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
खुल्ला रक्तदान कार्यक्रमको मुख्य प्रायोजक कलैया उपमहानगरपालिका वडा नम्बर १ का वार्ड अध्यक्ष मोहन बहादुर छेत्री रहनु भएको थियो ।
राजदेवी साङ्गितिक समूहका अध्यक्ष निरज नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि श्री ज्वाला दल गण ब्रम्हपुरी ब्यारेकका प्रमुख सेनानी कुमार खड्काले खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
राजदेवी साङ्गितिक समूहले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८ महिला सहित ५२ जनाले रगतदान गरेको नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक वीरगंजले जनाएको छ ।
मानव कल्याण हेतु कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको राजदेवी साङ्गितिक समूहका अध्यक्ष निरज नेपालीले बताए ।
सो अवसरमा रिता देवी,निरज नेपाली,सबिन सिग्देल,सन्जय पटेल,लक्ष्मी भट्टराई लगायतकाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता दिब्यनाथ श्रेष्ठ,समाजसेवी एवम् गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव,डा.मनोज यादव,रक्त सञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पान्डे,सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संयोजक विश्व हिन्दु परिषदका अध्यक्ष संजय पटेल रहेका थियो भने कार्यक्रमको सन्चालन सबिन सिग्देलले गरेका थिए ।