अध्यक्ष र वडाध्यक्षबीचको खिचातानीका कारण, धोबिनी गाउँपालिकामा एक हप्तादेखि तालाबन्दी

गढिमाइ खबर
87 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

राम मण्डल/
एक हप्ता अगाडी पर्साको धोबिनी गाउँपालिकामा लगाइएको तालाबन्दी अहिलेसम्म पनि खुलेको छैन ।

गाउँपालिकामा बेथिती बढदै गएको तथा गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले मनोमानी गरेको भन्दै पालिकाका वडाध्यक्षहरुले नै गाउँपालिकाको धोबिनी स्थित कार्यालयमा एक हप्ता अगाडि तलाबन्दि गरेका थिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको बिबादले गर्दा अहिले पनि गाउँपालिकाको कार्यालयमा ताला नै लगाईएको छ ।

तालाबन्दीका कारण सेवाग्राहीहरु मारमा परेपनि हालसम्म कसैले पनि तालाबन्दी खोल्न पहल समेत गरेका छैनन । बिबादका कारण गाउँपालिका अध्यक्ष आफै मनोमानीमा छन भने वडाध्यक्षहरु पनि आफै कुरामा अडिग भएर बस्दा तालाबन्दी एक हप्तासम्म लम्बिएको छ । तालाबन्दी नखुल्दा सेवाग्राहीहरु भने मर्कामा परेका छन ।

गाउँपालिका अध्यक्ष चौहानले पालिकामा भएका करारका कर्मचारीहरुलाई बिना बोर्ड बैठकमा पास गरेर हटाएको, गाउँपालिकामा नियमित रुपमा अध्यक्ष उपस्थित नभएको, कर्मचारीहरु कार्यालयमा नआएको लगाायतका समस्याहरुलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएपछि गाउँपालिका कार्यालयमा ताल्चा लगाइएको वडा नम्बर ३ का वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मीले जानकारी दिए ।

गाउँपालिका कार्यालय एक हप्तादेखि बन्द हुदा सेवाग्राहीसँगै जनप्रतिनिधि बिभिन्न भुक्तानी लिने ठेकेदार लगायतलाई समस्या भएको तथा बसेर छलफल गर्न भने पनि अध्यक्ष चौहानले अटेरी गरेको वडाध्यक्षहरुको भनाई छ ।

६ महिनामा नै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढने गाडीले ३५ लाखको तेल नै सकाएको तथा त्यसैको बारेमा हिसाब गर्न बोर्ड बैठक राख्न भन्दा गाउँपालिका अध्यक्ष चौहानले नमानेको जस्ता अरु थुप्रै बेथितीहरु पलिकामा देखिएकोले त्यसको समाधान गर्नुपर्ने माँग आफुहरुको रहेको वडा नम्बर १ का वडाध्यक्ष बन्धु साह तेलीले बताए ।

उनले गाउँपालिकाको बोर्ड बैठक नै नगरी आफैले लेटर प्याडमा साईन गरेर कर्मचारी हटाएको,आफु र कर्मचारी मिलेर अध्यक्ष चौहानले गाउँपालिकाको बजेट दुरुपयोग गरेको उनले बताए ।

वडाध्यक्षहरुले राजनीतिक प्रतिशोधका कारण पालिकामा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष चौहानले बताए । उनले कर्मचारी हटाएको बिषयमा बोर्ड बैठकमा सबै बोर्ड सदस्यहरुको सहमतिमै हटाइएकोले त्यसमा बिबाद गर्नु झुठो भएको बताए । गाउँपालिकामा तालाबन्दि भएदेखि आफु कार्यालयमा नगएको अध्यक्ष चौहानले स्विकार गर्दै अन्य कर्मचारीहरु भने पालिकामा गएर काम गरिरहेको जानकारी दिए ।

गाउँपालिकामा यसअघिका जनप्रतिनिधिहरुले आफना कार्यकर्ताहरुलाई पोस्नको लागि करारमा कर्मचारीको रुपमा राखेकाले गाउँपालिकामा त्यस्ता नचाहिने बोझ भएका कर्मचारीहरुलाई मात्रै हटाईएको अध्यक्ष चौहानको भनाई रहेको छ । धोबिनीमा अध्यक्ष चौहान जसपाबाट निर्बाचित भएका छन । भने उपाध्यक्ष काँग्रेसबाट निर्बाचित भएकी हुन । बोर्डमा भने काँग्रेसको बहुमत रहेको छ ।

साझा गर्नुहोस्