रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकालाई अटेरी गर्दै ठेकेदारहरुले बुझाउँनुपर्ने करोडौँ रुपैया अहिलेसम्म बुझाएका छैनन् ।
उपमहानगरपालिकाको ठेक्का सकारेका ठेक्दारहरुले उपमहानगरपालिकालाई बुझाउँनुपर्ने ८ करोड २० लाख ५१ हजार ९ सय ५५ रुपैया अहिलेसम्म नबुझाएका राजश्व शाखा प्रमुख राम शर्माले जानकारी दिएका छन ।
उपमहानगरपालिकाले बारम्बार बक्यौता रकम बुझाउँन ठेकेदार कम्पनीहरुलाई परिपत्र गरे पनि उनीहरु अटेरी गरी बसेका छन् ।
२०७७ साल जेठ मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खन्न तथा बिक्रि गर्ने ठेक्का सकारेका न्यु पाथिभरा सप्लायर्स हेटौडाले १ करोड २० लाख २८ हजार ९० रुपैया, श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमराले १ करोड २७ लाख ३० हजार २ सय २१ रुपैया, ओम सप्लायर्स कलैयाले ९९ लाख ९९ हजार ९ सय ९९ रुपैया, २०७८ साल जेठ मसान्तसम्मको लागि ठेक्का सकारेका बिनोद साह निर्माण सेवा कलैयाले ३ करोड १२ लाख रुपैया उपमहानगरपालिकालाई अहिलेसम्म बुझाएका छैनन् ।
त्यस्तै २०७७ असार सम्मको लागि सड्क उपयोग शुल्क उठाउँन ठेक्का सकारेका न्यु गुप्ता सप्लायर्सले २१ लाख २५ हजार , कबाडी करको ठेक्का सकारेका सिमरा कन्स्ट्रक्सनले १ करोड २१ लाख ५३ हजार ६ सय ९३ रुपैया,पाडा भैसी बजारको ठेक्का सकारेका जितेन्द्र प्रसाद यादबले १५ लाख रुपैया र बिज्ञापन करको ठेक्का सकारेका रुटस एड्भटाईजिङ, कलैयाले ३ लाख १४ हजार ९ सय ५२ रुपैया उपमहानगरपालिकालाई बुझाउँनु पर्ने रकम नबुझाएर अटेरी गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
बिनोद साह निर्माण सेवा र सिमरा कन्स्ट्रक्सनले कोभिड संक्रमणको कारण आफुहरुलाई घाटा भएको कारण बताउँदै जिल्ला अदालत बारामा बक्यौता रकम मिनाहाको माग राख्दै मुदा दायर गरेका छन् । पाडा भैसी बजारको ठेक्का सकारेका जितेन्द्र यादब र बिज्ञापन कर उठाउँन ठेक्का सकारेका रुट्स एड्भटाईजिङ कलैयाको पहिलाको ठेगाना परिवर्तन भएको कारण बताउँदैँ पठाईएको चिठि फिर्ता हुने गरेको छ ।
न्यु पाथिभारा सप्लायर्स हेटौडा ,श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमरा र ओम सप्लायर्स कलैयाको गलत बिल जारी गरेको भन्दै अख्तियार अनुसन्धान कार्यालय हेटौडा र राजश्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान गरिरहेको छ ।
नदीजन्य पदार्थहरु सङ्कलन तथा बिक्री ठेक्कामा ठेक्कदारसँग मिलामतो गरेको , ठेक्कदारले पैसा नतिर्दा जफत गर्नुपर्ने बैक ग्यारेन्टी रकम जफत गरि असुल नगरेको लगायतको कारण देखाउँदै जीतपुरसिमरा उपमहानगरपालिकाको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई निलम्बनमा परेका छन् ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ। सेढाई निलम्बनमा पर्दा उनी बाराका सहायक प्रमुख जिल्ला अधिकारी थिए ।