रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दुई वटा माध्यमिक बिद्यालयहरुलाई अदालतले बिभिन्न बहानामा बिद्यार्थीहरुसँग रकम नअसुल्न आदेश दिएको छ ।
आदेश दिएका बिद्यालयहरुमा नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमरा रहेका छन् ।
असार ६ गते उच्च अदालत जनकपुर अस्थाई ईजलास बिरगंजका न्यायधीश प्रेमराज ढकाल र सीताराम मण्डलको संयुक्त ईजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
कानुन प्रतिकुल हुने गरी बिद्यार्थी भर्ना गर्दा , पढाई संचालन गर्दा मासिक शुल्क निबेदनको अन्तिम टुङ्गो नलागेसम्मकोलागि नलिनु भनि आदेश दिएको हो ।
कानुन बिषय अध्ययनरत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ का २६ बर्षिय बिद्यार्थी अभिनय गुप्ताले बिद्यालयहरुले उठाउँने गरेको चर्को शुल्कको बिरोध गर्दै उच्च अदालत बिरगंजमा निबेदन दिएका थिए ।
बिद्यालयहरुको तर्फबाट अधिवक्ता हरिकृष्ण अधिकारी ,उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता दामोदर पौडेल ,मधेश प्रदेश मुख्यमन्त्रीको तर्फबाट अधिवक्ता सुनिल कुमार यादबले बहस गर्नुभएको थियो भने निबेदक बिद्यार्थीले आफनो तर्फबाट स्वयम बहस गरेका थिए ।