फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउन बारामा कडा सुरक्षा: १४५ मतदान स्थल अति संवेदनशील सूचीमा

गढिमाइ खबर
185 पाठक संख्या

बारा,कलैया

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बाराले विशेष सुरक्षा योजना तयार पारेको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाभरका मतदान स्थलहरूको संवेदनशीलता मूल्यांकन गरी आवश्यक तयारी तीव्र पारिएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाका ३०५ मतदान स्थलमध्ये १४५ स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ भने १०८ स्थललाई संवेदनशील र ५२ स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। भौगोलिक अवस्था, यातायातको पहुँच, विगतका निर्वाचनका अनुभव, सामाजिक–सांस्कृतिक परिवेश तथा पूर्वाधारको स्थितिलाई आधार मानेर वर्गीकरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले संवेदनशीलताको स्तरअनुसार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। उनका अनुसार जोखिम बढी भएका क्षेत्रमा थप जनशक्ति खटाइनेछ। साथै मोबाइल गस्ती, एम्बुस टोली, क्यूआरटी र सादा पोशाकका सुरक्षाकर्मीसमेत सक्रिय रहनेछन्।

बारामा ३०८ मतदान स्थलअन्तर्गत ५८७ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सुरक्षाका लागि करिब १,६०० जना नेपाल प्रहरी र २,६३८ जना म्यादी प्रहरी परिचालन गरिनेछ। थप रूपमा ७ जना प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षकसहित ७६३ जना सुरक्षाकर्मी मद्दतका लागि जिल्लामा खटिएका छन्।

यसका अतिरिक्त नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका छुट्टाछुट्टै सुरक्षा टोली पनि परिचालन गरिने व्यवस्था मिलाइएको छ। ती निकायहरूले मतदान केन्द्र बाहिर घेराबन्दी सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थामा प्रतिकार्य गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

प्रहरीले निर्वाचन आचारसंहिता पालना गराउन, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पुर्‍याउन सबै सुरक्षा संयन्त्रबीच उच्च समन्वय कायम गरिएको जनाएको छ। साथै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

‎व्यापक जनशक्ति परिचालन, रणनीतिक योजना र निरन्तर निगरानीमार्फत बारामा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको सुरक्षा निकायले जनाएको छ।

साझा गर्नुहोस्