अनैतिक सम्बन्धका कारण पति र सासुको हत्या : बुहारी र प्रेमी पक्राउ

गढिमाइ खबर
52 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : अनैतिक प्रेम सम्बन्धका कारण आफ्नै पति तथा सासुको हत्या गरेको आरोपमा एक बुहारी र तिनको प्रेमीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

बुधबार विहान बाराको परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने ५० वर्षीय जगरुप मण्डलको घरमा अपरिचित पुरुष व्यक्ति घर भित्र प्रवेश गरि चक्कु प्रहार गरेको सूचना बारा प्रहरीले प्राप्त गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा अनुसन्धान टोली खटेको थियो। अनुसन्धानबाट दुई जना व्यक्तिहरुको घट्नास्थलमा नै मृत्यु भएकोले घट्नास्थल, जाँच मुचुल्का लगायतका अनुसन्धान कार्य गरी शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएको थियो।

घट्नामा घाईतेमध्ये दुई जनाको एल. एस. न्युरो अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। सो घटनामा परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने ३१ वर्षीय राम ईश्वर मण्डल तथा जगरूप मण्डलकी ४६ वर्षीय श्रीमती सुमित्रा मण्डलको मृत्यु भएको हो। घटनामा परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने वर्ष ५० को जगरूप मण्डल तथा मण्डलकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका हुन्।

उक्त घट्नामा संलग्न व्यक्तिहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा परवानीपुर गाउँपालिका वडा नं. ०१ बस्ने मृतक राम ईश्वर मण्डलको २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ०७ बस्ने वर्ष २७ को धर्मेन्द्र महतो धानुक अनुसन्धानबाट खुलेको हो। उनीहरुमध्ये मनिता देवी मण्डललाई अस्पतालबाट उपचार पश्चात र धर्मेन्द्र महतो धानुकलाई जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. ०४ मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरु माथि ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पाँच दिन म्याद लिई हिरासतमा राखि प्रहरीले अनुसन्धान जारी राखेको छ। प्रारम्भिक अनुसन्धानबाट विवाहेत्तर सम्बन्धको कारण उत्पन्न घरायसी विवादको कारण घट्ना भएको खुल्न आएको छ।

पक्राउ परेको धर्मेन्द्र महतो धानुक बैदेशिक रोजगारीको लागि युएई रहेकोमा माघ ११ गते नेपाल आई घर परिवारको सम्पर्कमा नबसी मनिता देवी संग हत्याको योजना बनाई घट्ना गराएको खुल्न आएको प्रहरीले जनाएको हो।

साझा गर्नुहोस्