परवानीपुरको हत्याकाण्ड योजनाकार श्रीमती र प्रेमी पक्राउ

गढिमाइ खबर
269 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

श्यामबाबु यादव
कलैया १३ माघ/

बाराको परवानीपुर–१ की २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका–१ रहरियाडमा प्रेम सम्बन्धका कारण एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ भने दुई जना घाइते भएका छन्।

मनिता देवी मण्डलले प्रेमी धमेन्द्र मिलि २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई योजनामा माघ १२ गते धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए। माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो। घटनाको मुख्य योजनाकार मानिता देवी मण्डल रहेको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।

घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो।प्रेम सम्बन्धले निम्त्याएको यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्