कलैया,१५ भदौ । सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले सिमानामा कडा निगरानी गर्न निर्देशन दिएपछि शनिबार मात्रै करिब पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
जितपुर सुरक्षा वेशको मोबाइल टोलीले पथलैया–हेटौडा सडकखण्डस्थित अमलेखगञ्जमा गाडी चेकजाँच गर्ने क्रममा करिब २ लाख ६७ हजार रुपैयाँ बराबरको कपडा र किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै सिम्रौनगढ नगरपालिका–३ झरोखर सीमा क्षेत्रबाट सीमा सुरक्षा गुल्म पिपरपातीको टोलीले मोटरसाइकलसहित करिब २ लाख रुपैयाँ बराबरको किराना सामग्री बरामद गरेको छ।
यसैगरी बीओपी कबैगोठले सुवर्णपुर गाउँपालिका–३ संतगञ्ज सीमा इलाकाबाट करिब ४० हजार रुपैयाँ बराबरको मोटर पार्ट्स बरामद गरेको जनाएको छ।
उक्त बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको एसपी केसीले जानकारी दिए।
उनका अनुसार साउन महिनामा मात्र करिब ९० लाख र भदौ महिनाको अहिलेसम्म करिब ४० लाख गरि करिब १ करोड १० लाख बराबरका अवैध रेडिमेड कपडा,कम्प्युटर पार्ट्स,कुर्ता सुरुवाल,जुता, ३२ किलो लागू औषध (गाजा) लगायतका सामान बरामद गरिएको छ।
एसपी केसीले बारामा रहेका मातहतका सम्पूर्ण युनिट इन्चार्जलाई सिमानाकामा विशेष निगरानी र कडा चेकजाँच गर्न निर्देशन दिइसकेको बताए।
उनको नेतृत्वमा सीमाक्षेत्रमा चेकजाँच प्रणाली अझ कडाइ गरिएको छ ।









