बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्ला प्रहरी कार्यालय बाराको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गर्नुभएको हो।
प्रहरीका अनुसार २०८३ भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र करिब ३/४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनाको अनुसन्धानका क्रममा मृतक बालिका जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरी बस्ने ममता चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्।
प्रारम्भिक अनुसन्धानबाट जीतपुरसिमरा–१ बस्ने १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिई फकाएर घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणी गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका सुमन थापा र म्याजिक चालक प्रोग्रेस चौधरीविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
दुवै आरोपितलाई बारा जिल्ला अदालतबाट थप चार दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको तथा घटनाको थप तथ्यबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। प्रहरीले घटनासम्बन्धी प्रमाण तथा अन्य पक्षको समेत सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जनाएको छ।





