बारा । पर्सा जिल्लाको खुला सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा प्रहरी असफल भएको हो कि तस्करी गिरोहसँगको मिलेमतोका कारण अवैध कारोबार फस्टाएको हो भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ।
जिल्लाका विभिन्न नाकाबाट दैनिक रूपमा भइरहेको भनिएको तस्करी गतिविधिमा प्रहरीकै केही अधिकारीको संरक्षण रहेको आरोपसार्वजनिक भएपछि सुरक्षा संयन्त्रको भूमिकामाथि नै प्रश्नचिन्ह खडा भएको छ।
स्रोतहरूका अनुसार भारतसँग सीमा जोडिएका छपकैया,इनर्वा, सिर्सिया,ड्राइपोर्ट,अमरपट्टी,प्रसौनीभाठ्ठा,भिस्वा,जानकीटोला लगायतका नाकाबाट लत्ताकपडा,इलेक्ट्रोनिक्स सामग्री,हार्डवेयर,जुत्ता–चप्पल,गुट्खा,खाद्यान्न,कुखुराका चल्ला,माछा तथा अन्य पशुजन्य वस्तुहरू ठूलो परिमाणमा अवैध रूपमा नेपाल भित्रिने गरेको दाबी गरिएको छ।
यस्ता गतिविधि नियन्त्रण गर्नुको सट्टा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम इन्चार्ज वरिष्ठ सई लोकेन्द्र पण्डितको नेतृत्वमा अनौपचारिक ‘घुमुवा नेटवर्क’ परिचालन गरी तस्करहरूबाट नियमित असुली भइरहेको आरोप स्रोतहरूले लगाएका छन्।
विभिन्न प्रहरी चौकी र वडा प्रहरी कार्यालयमा खटिएका केही प्रहरी तथा उनीहरूका विश्वासपात्र व्यक्तिहरूमार्फत मासिक रकम संकलन हुने गरेको दाबीसमेत गरिएको छ।
स्थानीय स्रोतका अनुसार तस्करीको मार्ग,सामानको प्रकृति र कारोबारको परिमाणअनुसार रकम निर्धारण हुने गरेको छ। रकम बुझाउनेहरूलाई सहज आवतजावतको वातावरण मिलाइने तथा नबुझाउनेमाथि मात्र छापामारी र नियन्त्रणको कारबाही हुने गरेको आरोप छ।
पर्सा प्रहरीले पछिल्लो डेढ वर्षमा करोडौं रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको तथ्यांक सार्वजनिक गर्दै आएको छ। तर अधिकांश घटनामा मुख्य कारोबारी वा तस्करी सञ्जालका संचालकमाथि प्रभावकारी कानुनी कारबाही नदेखिएको भन्दै बरामदी कारबाही केवल देखावटी भएको आशंका व्यक्त हुन थालेको छ।
स्थानीयवासी तथा जानकारहरूका अनुसार वास्तविक तस्करहरू कानुनी दायराभन्दा बाहिर रहँदा साना भरियामात्र पक्राउ पर्ने प्रवृत्ति दोहोरिँदै आएको छ।
स्रोतहरूले यति ठूलो परिमाणमा भइरहेको भनिएको तस्करी गतिविधि जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकको जानकारीबिना सम्भव नहुने दाबी गर्दै उच्च तहसम्मको सम्भावित मिलेमतोबारे पनि प्रश्न उठाएका छन्। यद्यपि यी आरोपहरूको स्वतन्त्र र आधिकारिक पुष्टि भने हुन सकेको छैन।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा एसपी पाठकले सुरुमा सन्देशमार्फत प्रश्न पठाउन आग्रह गरेका थिए। त्यसपछि पटक–पटक फोन सम्पर्कको प्रयास गरिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन।
यस्तै,आरोपबारे प्रतिक्रिया लिन खोज्दा वरिष्ठ सई लोकेन्द्र पण्डितसँग पनि सम्पर्क हुन सकेन। फोन सम्पर्कका प्रयासहरू सफल नभएको स्रोतले जनाएको छ।
पर्सा जिल्लाको खुला सीमाक्षेत्र लामो समयदेखि तस्करीका लागि संवेदनशील मानिँदै आएको छ। राज्यले सीमामा सुरक्षा निगरानी, भन्सार नियन्त्रण तथा प्रहरी परिचालनमा ठूलो लगानी गरे पनि अवैध कारोबार रोकिएको अनुभूति स्थानीयले गर्न सकेका छैनन्। बरु पछिल्ला दिनहरूमा तस्करी झन् संगठित र प्रभावशाली बन्दै गएको गुनासो बढ्दै गएको छ।
उठेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले सम्बन्धित निकायले निष्पक्ष,स्वतन्त्र र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासी तथा सरोकारवालाहरूले गरेका छन्। यदि आरोप पुष्टि भएमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइनु राज्यको दायित्व हुने उनीहरूको भनाइ छ।





