संविधान २०७२ भित्रै जेनजीको माग सम्बोधन गर्नुपर्ने : मुस्लिम संघ

गढिमाइ खबर
945 पाठक संख्या

कलैया,२६ भदौ । जेनजी पुस्ताको मागलाई नेपालको संविधान २०७२ भित्रवाट नै सम्बोधन गर्नुपर्ने नेपाल मुस्लिम संघ केन्द्रिय समितिले सुझाव दिएको छ।

संघका केन्द्रिय महासचिव परवेज आलमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएको हो। विज्ञप्तिमा २०७२ को संविधान भन्दा पछाडी देशलाई फर्काउने प्रपन्च नगर्न सम्बन्धित सबै पक्षलाई चेतावनी सहित संघले सबैमा हार्दिक आग्रह तथा अपिल गरेको छ।

जेनजी–२ युवाहरुले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनाहार युवाहरुप्रति नेपाल मुस्लिम संघले भावपूर्ण हार्दिक श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना संघले गरेको छ।नागरिकको वाक स्वतन्त्रताको अधिकार रक्षाका लागि लडेका श्रद्धेय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माथि भएको आक्रमण एवं अन्य जो जस माथी अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ। ती प्रत्येक घटना दुःखद र निन्दनीय छन्। त्यस्ता निन्दनीय घटनाको संघ घोर–भत्सर्ना गर्दछ विज्ञप्तिमा लेखिएको छ।

शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने उदघोष जायज भएपनी सिंहदरवार, राष्टप्रति भवन शितल निवास, संसद भवन, ’सर्वोच्च अदालत, सरकारी कार्यालय, सञ्चार गृह, व्यवसायिक तथा निजि भवन लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खबौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद र निन्दनीय कार्य भएको प्रति संघ घोर भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ।

वर्तमान अवस्थावाट देशलाई शान्ति र पुननिर्माणको दिशामा अघि बढाउन सबै पक्षले आत्मविश्वासका साथ एकताबद्ध हुन जरुरी छ। नेपालको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्न सबै गम्भीर बन्न आवश्यक छ। यो विषम परिस्थितिमा वार्ता र संवाद मार्फत निकास दिनका लागि राष्ट्रपति ज्यूले लिएको पहलकदमीको संघ स्वागत गर्दछ विज्ञप्तिमा भनिएको छ।

साझा गर्नुहोस्