नव जन्म पुनःस्थापना केन्द्रका संचालन मन्सुर अझै फरार,पक्राउ गर्न पिडित परिवार निरन्तर दवाव कार्यक्रम जारी

गढिमाइ खबर
89 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

कलैया : बारामा सुधार केन्द्रमै कुटपिट गरि एक युवकको हत्या भएको दस दिन बितेपनि अझै संचालक पक्राउ परेका छैनन ।

बाराको कलैया उप महानगरपालिका–१ मा रहेको नव जन्म पुनःस्थापना केन्द्रमा ३७ वर्षीय युवक प्रदिप प्रसाद मण्डलको कुटपिट गरि हत्या भएको दस दिन भई सक्यो । घटनाको झण्डै दुइ साता हुन लाग्दा पनि पुनःस्थापना केन्द्रका संचालकलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

केन्द्रका संचालक साहेबबाबु मन्सुर अहिले पनि फरार छन । उनलाई प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।

उपमहानगरपालिका–९ रामपुर टोल बस्ने मृतक मण्डललाई गत माघ १५ गते उनका परिवारजनले सुधार केन्द्रमा भर्ना गरेका थिए । तर उनको सुधार केन्द्रमै विवाद हुँदा गत फागुन २ गते राती सोही सुधार केन्द्रमा रहेकाहरु तथा कर्मचारीहरू समेतले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिट पछि उपचारको लागि भनि उनीहरुले कलैया सिटी अस्पताल कलैयामा लगेको र थप उपचारको लागि प्रादेशिक अस्पतालमा लगे पश्चात चिकित्सकले मण्डललाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराले हत्याको अभियोगमा कुटपिटमा संलग्न रहेका आरोपमा सात जनालाई न पक्राउ गरेको थियोे । घटनामा संलग्न अन्यलाई पक्राउ गरेपनि सुधार केन्द्रका संचालक मन्सुसर भने अझै पनि कानुनी दायरामा आउन सकेका छैनन ।

सुधार केन्द्रमै रहेकाहरुले मण्डलको कुटपिट गरि हत्या गरिएको सिसिटिभीमा समेत भिडियो कैद भएको थियोे ।घटना भएपछि मृतकका परिवारजनले बारा प्रहरीमा नौ जना बिरुद्ध किटानी जाहेरी दिएका छन् ।सो मध्ये सात जना पक्राउ भईसकेका छन भने केन्द्रका संचालक मन्सुर र अन्य दुई जना गरि तीन जना अझै फरार रहेका छन ।

बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय सरफराज मन्सुर,२९ वर्षीय तमन्ना अली, वडा नम्बर ४ बस्ने २२ वर्षीय निरज सरार्फ,बडा नम्बर ६ बस्ने २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख,वडा नम्बर १ बस्ने २४ वर्षीय अरूण सरार्फ,१९ वर्षीय सागर गुप्‍ता र वडा नम्बर २ बस्ने २१ वर्षीय प्रमेश्वर साहलाई पक्राउ गरि प्रहरीले ज्यान सम्बन्धि कसुरमा अनुसन्धान अघि बढाएको छ ।

फरार रहेका संचालकसहित तिनै जनाको खोजी कार्य भइरहेको बारा प्रहरीका एसपी सन्तोष तामाङले जानकारी दिएका छन । फरार रहेका हरुको खोजी तथा घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

घटना पछि मण्डलका परिवार र स्थानीयले सन्चालक मन्सुरलाई पनि पक्राउ गर्न माग गर्दै कलैयामा निरन्तर विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

साझा गर्नुहोस्