कोल्हवी : धीरेन्द्र पनुहर/ बाराको बारागढी गाउँ पालिका वडा नम्बर ५ सिहासनी बैरियामा पञ्चवर्षिय गढीमाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने यस गढीमाई मेला यो वर्ष बहुत धुमधाम र हर्सोउल्लासको साथ लाग्ने मेला समितिका अध्यक्ष तथा बारागढी ५ का वडा अध्यक्ष मनेजर चौधरीले जानकारी दिनुभएको छ ।
यस वर्ष गढीमाईको मेला यहि बैशाख २१ गते देखि २५ गते सम्म लाग्ने छ । मेलाको उदाटनको दिन बैशाख २१ गते आइतबार पटनाको म्युजिकल ग्रुपको साथै नेपालको चर्चित भोजपुरी गायक बिशाल यादवको प्रस्तुति रहने छ ।
त्यस्तै बैशाख २२ गते लालीगुराँस ग्रुप झापाको टिकटक स्टार रिशिका चौधरी प्रस्तुति रहने छ । बैशाख २३ गते कंकालीमाई म्युजिकल ग्रुपको प्रस्तुति रहनेछ ।
त्यसैगरी बैशाख २४ गते बिहार छौडादानोको टिकटक स्टारहरुले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरिने छ भने मेलाको अन्तिम दिन बैशाख २५ गते बीरगंजको भोजपुरी गायक सुनिल पन्डित र नेपालको चर्चित मोडेल रचना सिवाकोटीको प्रस्तुति रहने छ ।
गढीमाई मेलालाई थप आकर्षक बनाउनको लागि विभिन्न किसिमका खेल तमासाहरु जस्तै मौतको कुवा,झुला,ड्रेगन हाउस,रोटे पिङको व्यस्था गरिएको छ ।यस बर्षको गढिमाई मेला सम्पन्न गर्न बीस लाखको अनुमानित बजेट रहेको छ ।
जसमध्ये बारागढी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ भने पन्ध्र लाख घरधुरीबाट चन्दा संकलन गर्ने उदेश्य राखिएको छ । सिहासनी टोलमा परापुर्व कालदेखि नै गढिमाईको स्थानमा पुजाआजा गर्दै आएको र गढीमाई माताको आशिर्वादले धेरै जनाको मनोकामना पूरा भएको स्थानीय हेमनारायण चौधरीले जानकारी दिनुभयो ।
सबै भन्दा अनौठो कुरा यो छ कि जुन बर्ष गढिमाईको मेला यो गाउँमा लाग्छ त्यो बर्ष यस सिहासनी गाउँको बासिन्दा कसैले पनि आफ्नो छोरा छोरीको बिहे नगराउने परम्परा चली आएको छ ।
मेलालाइ सभ्य र भब्य तरिकाले सफल बनाउनको लागि सम्पुर्ण गाउँवासी,ब्यापारी,जनप्रतिनिधि,नागरिक समाज,सुरक्षाकर्मी,पत्रकार लगाएत सम्पुर्ण सरोकारवालाहरुलाइ मेला समिती परिवारले आग्रह गरिएको छ ।









