धारिलो हतियार प्रहार गरी रौतहटमा वृद्धको हत्या

गढिमाइ खबर
305 पाठक संख्या

ओम प्रकाश यादव/

बाराको छिमेकी जिल्ला रौतहटमा मंगलबार राति धारिलो हतियार प्रहार गरी एक जना ज्येष्ट नागरिकको हत्या गरिएको छ ।

जिल्लाको गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा हत्या गरिएको अवस्थामा बुधवार विहान ८ बजेको समयमा महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मंगलवार राति ९ बजे खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घरदेखि २०० मिटर पर धानको खेतमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन् ।

महतोको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता गिरीले बताइन ।

मृतक अनुरूद महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएकोले पेटमै छुरा प्रहार गरी कसैले हत्या गरेको एसपी घिमिरेले बताएका छन् ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

साझा गर्नुहोस्