बारा । बारामा जिल्ला प्रहरी कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी महमद सरिफ मियाँ भाँडको जाहेरीले अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो। उक्त व्यक्तिलाई छोड्नुपर्ने मागसहित आज बिहान प्रहरी कार्यालय अगाडि तेस्रोलिङ्गी समूहले सडक अवरोध गर्दै अर्धनग्न प्रदर्शन गरेको प्रहरीले जनाएको छ।
बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै हिँडडुल गर्ने सर्वसाधारण तथा सवारी साधनलाई समेत अवरोध पुर्याउँदै हो–हल्ला गरेका थिए। प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा उल्टै प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपात गर्ने प्रयास भएको उनले जानकारी दिए।
शान्ति सुरक्षामा खलल पुगेपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकामध्ये रौतहटको देवाही गोनाही गाउँपालिका–५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन्।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पण्डितले जानकारी दिएका छन्।





