रौतहट,३० साउन । ओम प्रकाश यादव/
रौतहटको गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई सवारी साधन,फर्निचर,सोफासेट,कुर्सी सहित विभिन्न सामग्री सहयोग गरेको छ ।
गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले मंगलवार मालपोत कार्यालय गरुडालाई सवारी साधन,सोफासेट,सेवाग्राहीलाई बस्ने कुर्सी,इलेक्ट्रोनिक लगाएत ५ लाख भन्दा बढीको विभिन्न सामग्री उपलब्ध गराएका हुन ।
नगर प्रमुख जयसवालले १५० सीसीको एकथान नयाँ पल्सर मोटरसाइकल,सोफासेट १ थान,डेक्सटप २ थान,प्रिन्टर १ थान, यूपिएस २ थान,पंखा ५ थान,सेवाग्राहीलाई बस्ने सिटर कुर्सी ३ थान,फिक्स कुर्सी ४ थान लगाएतका सामग्री मालपोत कार्यालय गरुडाका कार्यालय प्रमुखलाई हस्तान्त्रण गरेका हुन ।
सवारी साधनको अभावमा कर्मचारी समयमा कार्यालय आउन नसक्दा सेवा प्रवाहमा ढिलाई हुने,कार्यालय भित्र राख्न र बाहिर सेवाग्राहीलाई बस्ने कुर्सी नहुँदा सेवाग्राहीलाई बस्न समस्या भइरहेको,पंखा र डेकस्टप तथा यूपिएसको अभावमा समेत काम गर्न समस्या भएको कार्यालयबाट व्यापक गुनासो आएपछि पालिकाको तर्फबाट मालपोत कार्यालयलाई उक्त सामग्री सहयोग स्वरुप उपलब्ध गराएको नगर प्रमुख जयसवालले बताएका छन् ।
मालपोत कार्यालयबाट नै उक्त सामग्रीहरु सहयोग गर्न माग भइ आएकाले कार्यपालिकाको निर्णय अनुसार पालिकाबाट उक्त सामानहरु उपलब्ध गराइएको मेयर जयसवालले बताए ।
पालिकाले उपलब्ध गराएको सहयोगले कर्मचारीहरुलाई कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितो तवरले सेवा दिन सहज हुने र सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।









