बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल परिसरमा ब्लड बैंकको आफ्नै भवन हुने भएको छ ।
त्यहाँ निर्माणाधिन ब्लड बैंक भवनको काम तीब्र गतिमा भइरहेकोले केही महिनापछि व्लड बैंकको सम्पूर्ण काम आफ्नौ भवनबाट हुनेछ ।
प्रादेशिक अस्पताल कलैयाको आयोजनामा र छाया नेपालको सहयोगमा सो भवन निर्माण हुन लागेको हो । एक करोड आठ लाख ४१ हजार पाँच सय २३ रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ब्लड बैंकको आठ कोठा र शौचालयसहित भवनको निर्माणाधिन काम तीब्र गतिमा भईरहेको छ ।
कलैया उपमहानगर–३ भवानीपुरमा बस्ने नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं पूर्व राष्ट्रिय कार्यक्रम आयुक्त भरतप्रसाद साहको सहकार्य तथा छाया नेपालका कार्यकारी निर्देशक कमल थापाको विशेष सकृयता र छाया नेपालसंग सम्बद्ध संस्था समेतको आर्थिक सहयोगमा भवन निर्माण भई रहेको छ।
उक्त भवन निर्माण सम्पन्न गर्न गराउन जेठ ३२ गतेका दिन छाया नेपालका कार्यकारी निर्देशक कमल थापा,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट विकाश कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई बीच संझौता पत्रमा हस्ताक्षर भएको थियोे ।
सो सम्झौता अनुसार कूल लागतको २० प्रतिशत रकम प्रादेशिक अस्पताल कलैयाले तिर्नु पर्ने छ ।