मनमत–कलैया–मटिअर्वा सडक ठेक्का फेरि अलपत्र, ठेकेदारमाथि कारबाही कहिले?

गढिमाइ खबर
125 पाठक संख्या

श्यामबाबु यादव
कलैया, ८ चैत/
बाराको सदरमुकाम कलैयाको मुख्य सडक निर्माण कार्य फेरि अलपत्र परेको छ। मनमत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको व्यस्त बजार क्षेत्र स्तरोन्नति गर्ने जिम्मा लिएको निर्माण कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न नसकेपछि परियोजना पूर्ण रूपमा अन्योलमा परेको हो ।

सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन अनुसार थपिएको अन्तिम म्याद २०८२ चैत ४ गतेमै सकिएको छ । तर सप्तकोशी जलाधार÷ओम साई एण्ड कम्पनी जेभी, काठमाडौंले लिएको २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँको ठेक्का हालसम्म जम्मा २३ प्रतिशत मात्र भौतिक प्रगति र २१.४७ प्रतिशत वित्तीय प्रगतिमा सीमित छ ।

२०७८ पुस २७ गते सम्झौता भएको यो योजना सुरुमा २०७९ माघ १ भित्रै सकिनुपर्ने थियो। तर तीन वर्ष बितिसक्दा समेत सडक कालोपत्रे गर्ने काम शून्य अवस्थामा छ। नालाको काम पनि आंशिक रूपमा मात्र सम्पन्न भएको छ—संस्कार एफएमदेखि भरत चोकसम्म केही प्रगति देखिए पनि अन्य खण्डहरू प्रायः ठप्प छन्।

निर्माणको ढिलासुस्तीले कलैयाको जनजीवन कष्टकर बनेको छ। धुलो, हिलो र बिग्रिएको सडकका कारण दैनिक आवतजावत कठिन भएको छ भने स्थानीय व्यवसायीहरू ग्राहक घट्दा आर्थिक मारमा परेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बस्दा स्थानीयमा आक्रोश बढ्दै गएको छ।

स्थानीयवासीले फेरि म्याद थपेर ठेकेदारलाई उन्मुक्ति दिइने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। तर हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले भने अब कुनै हालतमा म्याद नथपिने स्पष्ट पारेको छ।
अब प्रश्न उठेको छ— काम नगर्ने ठेकेदारमाथि कारबाही कहिले हुन्छ? कि फेरि उही ढिलासुस्तीलाई संरक्षण गरिनेछ ?

साझा गर्नुहोस्