कलैया : जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव ६९ औ प्रहरी दिवसको अवसरमा पुरष्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनलाई पुरष्कार प्रदान गरेका हुन्। यादवलाई उत्कृष्ट अनुसन्धान कर्ताको रुपमा प्रहरी प्रधान कार्यालयले पुरष्कृत गरेको हो।
यादवलाई दिइएको सम्मानपत्रमा राष्ट्र र नागरिकको सेवामा समर्पित सत्य सेवा सुरक्षणमको आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी निर्वाह गरेको लेखिएको छ।
सम्मानपत्रमा महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट,वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान गरेको लेखिएको छ।
उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता प्रहरी पुरष्कार यादवलाई प्रदान गरिएको हो।भविष्यमा पनि राष्ट्र सेवाको पवित्र कार्यमा कटिबद्ध भई कर्तव्य निर्वाह गर्ने शुभकामना सहित उज्वल भविष्यको कामना समेत सम्मानपत्रमा लेखिएको छ।
प्रनानी यादवले भारतीय सुरक्षाकर्मीसंग समन्वय गरी १५ जना बालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएका थिए। उनले घरेलु हिंसामा शत प्रतिशत काम गरेका हुन्।
बालबालिका हराएको तथा ठाडो उजूरीको विषयमा लैंगिक संवेदनशील रही कार्य सम्झौताको लक्ष्य अनुसार यादवले काम गरेका छन्। १२ वर्षे बालिकालाई यौन दुरुपयोग गर्ने मुद्दाका प्रतिवादीलाई पक्राउ गरी प्रनानी यादवले गरेको उल्लेखनीय कार्य रहेको हो।
१५ वर्षे बालिकालाई जर्बजस्तिकरणी गर्ने प्रतिवादीलाई यादवले पक्राउ गरेर दाखेल गरेका हुन्। यस्तै अपहरण तथा शरीर बन्धकका प्रतिवादीलाई पक्राउ गरी यादवले दाखेल गरेका छन्।
श्रीमतिको हसियाले घाटि रेटेको र छोरीलाई दबियाले हानेको प्रतिवादीलाई पक्राउ गरी यादवले दाखेल गरेका हुन्।
पूर्व माननीय रामचन्द्र रायको हत्याको अनुसन्धानमा सूचना संकलन गरेको र प्रतिवादीलाई पक्राउ गरी दाखेल गरेका छन्। यस्तै प्रनानी यादव हत्याको छानवीन तथा अनुसन्धान समितिमा रही यादवले काम गरेकोले उनलाई प्रहरी दिवसमा पुरष्कृत गरिएको हो।









