क्षेत्रीय सभापति कुशवाहा माथि भएको घटनाको सत्य तथ्य छानवीन गर्न रास्वपा बाराको माग

गढिमाइ खबर
297 पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी बाराले बारा क्षेत्र नं.–१ का क्षेत्रीय सभापति रजनिश कुशवाहा माथि भएको घटनाको सत्य तथ्य छानवीन गर्न माग गरेको छ ।

पार्टी बाराका अध्यक्ष चन्दन स्वर्णकारले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेकामाथि कानुन बमोजिम कडा भन्दा कडा सजायको माग गरेका हुन् ।

कुशवाहालाई सोमबार बिहान पल्सर एन.एस. मोटरसाइकलमा आएका तीन जनाको अपरिचित समूहले टाउकोमा कडा वस्तुले प्रहार गरी बेहोस बनाएको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।

कुशवाहा कालोरातो रंगको जगदम्बा मोटर्सको टिभिएस स्टाइकर ना ४९ प ८२४२ मोटरसाइकल चढेर नदीमा कार्तिक स्नान गर्न जाने क्रममा उनलाई अपरिचित समूहले नियन्त्रणमा लिएको थियो । सिम्रौनगढबाट अपरिचित ठाउँमा लगी दिनभर बन्धक बनाई कुटपिट गरेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी बाराको गम्भीर ध्यानाकर्षण भएको सो विज्ञप्तिमा लेखिएको छ ।

सिम्रौनगढबाट बेहोस बनाएर अपरिचित समूहले जंगलको ठाउँमा लगेर कुशवाहासँग भएको पैसा समेत लुटपाट गरी दिनभर आँखामा पट्टी बाँधेर राखेका थिए ।बारम्बार ज्यान मार्ने धम्की समेत दिएको तथा साँझ जंगलमा एक्लै छाडेर गएको घटनाको सो विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।

कलैयामा प्राथमिक उपचार पश्चात कुशवाहालाई वीरगंज रेफर गरिएको छ ।मंसिर ८ गते केन्द्रीय सभापति रवि लामिछाने लगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा सिम्रौनगढमा सम्पन्न बृहत जनसभालाई सफल बनाउन कुशवाहाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विज्ञप्तिमा लेखिएको छ ।

बारा क्षेत्र नं.–१ का क्षेत्रीय सभापति कुशवाहालाई बेहोस बनाइ दिनभर बन्धक बनाएको घटनामा संग्लन समूहको खोजतलास गरी साथै घटनाको सत्य तथ्य छानबिन गरी त्यस्ता अपराधिलाई कडा भन्दा कडा सजायको जोडदार माग विज्ञप्तिमा गरिएको छ ।

साझा गर्नुहोस्